झरनाले सुरु गरिन् अनमोल र सुहानालाई लिएर ‘ए मेरो हजुर ५’ को छायांकन
झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचिएको चलचित्रको छायांकनका बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुनेछ।

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । अनमोल र सुहानासहित चलचित्रमा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।
‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन्। उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन। जसले दर्शकमाझ झरनाको भूमिका कौतुहल्ता जगाएको छ। यो चलचित्र नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ ।





