महेश, अञ्जना र सुशीलको ‘आशा’ छायांकन सम्पन्न


उडान स्टुडियोको प्रस्तुती रहेको चलचित्र ‘आशा’ को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको छ । एक महिनाको सेड्युल रहेको चलचित्रको निर्धारित समयमा नै छायांकन सकिएको निर्मात्री शर्मिला थापाले जानकारी दिएकी छिन्।

‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।

उनले चलचित्रको इन्डक्ल्याप समारोहमा चलचित्रका एक प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी थिइन् ।

चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बाल कलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रमा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ । आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा चलचित्र प्रदर्शनमा आउंदैछ।

प्रतिक्रिया दिनुहोस्