‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ पहिलोपटक भक्तपुरमा गुञ्जने
‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ पहिलोपटक भक्तपुरमा गुञ्जने भएका छन्। भक्तपुरको माटोमा नै जम्निएको यो व्याण्डले पहिलोपटक भक्तपुरमा हुन् लागेको लो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ मा गुन्जिने भएको हो। क्लब बागमतीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मङ्सिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले प्रस्तुति दिनेछन्। विशेषगरी कुमा सागर एण्ड द ख्वपः ब्याण्डको प्रस्तुति भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।
सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।
‘म्युजिक जात्रा–ख्वपः’ को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाएको छ ।
‘म्युजिक जात्रा–ख्वपः’ लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ। कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ )लाई प्रदान गरिनेछ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत CBRO लाई प्रदान गरिने आयोजकले जनाएको छ ।









