चलचित्र ‘बाः एक योद्धा’ को कमाई १ करोड पार
चलचित्र ‘बाः एक योद्धा’ले बिहिबारसम्म (पहिलो साता) १ करोड ११ लाख ग्रस कलेक्सन गरेको आंकडा निर्माण टिमले सार्वजनिक गरेको छ। पहिलो दिन जम्मा ६ लाखको कलेक्सन गरेको चलचित्रले विस्तारै व्यापारको गति समातेको हो। वर्ड अफ माउथ उत्कृष्ट पाइरहेको चलचित्र बक्स अफिसमा लामो समय चल्ने अनुमान गरिएको छ। पहिलो सातामा चलचित्र ४० हजार ८२३ दर्शकले हेरेको आँकडा छ।

दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि विस्तारै उचालिँदैछ । चलचित्रको ग्रस कलेक्सन रकम हरेक दिन उकालो लाग्ने क्रममा रहेको छ ।
“हरेक दिन चलचित्रको व्यापार बढिरहेको छ । चलचित्र हेर्ने दर्शकले परिवारका सबै सदस्यलाई चलचित्र हेर्न पठाउने बताइरहनु भएको छ,” निर्देशक हरि लम्सालले भने, “यसले अब हरेक दिन दर्शकको संख्या बढ्दै जानेमा हामी ढुक्क छौँ ।”
चलचित्रको शो संख्या पनि विस्तारै हलहरुले बढाइरहेका छन् । वितरकका अनुसार देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् ।
चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता र कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।










