नेपाली मेकअप आर्टिस्ट लेमी तामाङ ‘पेरिस फेसन विक’ मा ब्याकस्टेज मेकअप आर्टिस्ट


नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङले विश्वकै प्रतिष्ठित फेसन कार्यक्रममध्ये एक ‘पेरिस फेसन विक’ मा ब्याकस्टेज मेकअप आर्टिस्टका रूपमा काम गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान विस्तार गरिरहेकी छन्। मेकअप तथा सौन्दर्य क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव हासिल गरेकी लेमीको यो उपलब्धिलाई नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय उपस्थितिका रूपमा हेरिएको छ।

नेपालबाट सुरु भएको लेमीको व्यावसायिक यात्रा मुम्बई हुँदै दुबई, मिलान र न्यूयोर्कसम्म पुगेको छ। सानै उमेरदेखि कला तथा मेकअपमा रुचि राख्ने उनले फाइन आर्ट्सको पृष्ठभूमि सहित आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय सहरमा फेसन शो, एडिटोरियल, कमर्सियल प्रोजेक्ट, प्रोडक्सन तथा सौन्दर्य अभियानमा काम गर्दै उनले आफ्नो अनुभव र दक्षता विस्तार गरिन्।

लामो समयदेखि अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य क्षेत्रमा सक्रिय लेमीका लागि पेरिस फेसन विकमा काम गर्नु करियरको सुरुवातदेखि देखेको सपना पूरा हुनुजस्तै हो। विश्वका विभिन्न देशका डिजाइनर, मोडल, क्रिएटिभ तथा प्रोडक्सन टिमसँग सहकार्य गर्ने अवसरले उनको व्यावसायिक यात्रालाई थप उचाइ दिएको छ।

मेकअप आर्टिस्टका रूपमा अन्तर्राष्ट्रिय करियर अघि बढाउँदै आएकी लेमीले आफ्नै सौन्दर्य व्यवसाय समेत स्थापना गरेकी छन्। उनले सन् २०२१ मा ‘Pastel Beauty’ नामक नेपाली ब्यूटी ब्रान्ड सुरु गरेकी थिइन्। नेपाली बजारमा गुणस्तरीय मेकअप सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको यस ब्रान्डले कम्प्लेक्सन प्रोडक्ट, विभिन्न मेकअप सामग्री तथा प्रोफेसनल मेकअप ब्रसहरू उपलब्ध गराउँदै आएको छ। ब्रान्डका उत्पादनहरू दक्षिण कोरियामा निर्माण हुँदै आएका छन् भने थप उत्पादन विस्तार गर्ने कामसमेत भइरहेको छ।

यसैगरी, सन् २०२५ मा उनले ‘Bisou Beauty’ नामक अर्को ब्यूटी ब्रान्ड सार्वजनिक गरिन्। युवा पुस्तालाई लक्षित गरी स्थापना गरिएको यस ब्रान्डले रमाइलो, आधुनिक र आत्मअभिव्यक्तिलाई प्राथमिकता दिने सौन्दर्य उत्पादनमा जोड दिएको छ। किफायती मूल्यमा लिपस्टिक लगायत विभिन्न मेकअप सामग्री उपलब्ध गराउँदै आएको ब्रान्डले आगामी दिनमा थप उत्पादन बजारमा ल्याउने तयारी गरेको छ।

नेपालबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय फेसनको महत्वपूर्ण मञ्चसम्म पुर्‍याएकी लेमीले मेकअप आर्टिस्टका रूपमा आफ्नो पहिचान बनाउनुका साथै आफ्नै दुईवटा सौन्दर्य ब्रान्डसमेत स्थापना गरेकी छन्। उनको व्यावसायिक यात्राले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली प्रतिभाको सम्भावना र उद्यमशीलताको उदाहरण प्रस्तुत गरेको छ।

पेरिस फेसन विकमा लेमी तामाङको सहभागिता उनको व्यक्तिगत करियरको महत्वपूर्ण उपलब्धि हो। निरन्तर मेहनत, सिर्जनशीलता र दृढ संकल्पका साथ अघि बढे नेपाली प्रतिभाले पनि विश्व फेसन तथा सौन्दर्य उद्योगमा आफ्नो स्थान बनाउन सक्छन् भन्ने सन्देश उनको यात्राले दिएको छ।

प्रतिक्रिया दिनुहोस्