दयालाई लाभदायक २०७९, बक्स अफिसमा फर्किएको स्टारडम


अभिनेता दयाहाङ्ग राई नेपाली चलचित्र क्षेत्रले पाएको एक हिरा हुन्। आफुले गरेको अभिनयका कारण उनले पटकपटक आफुलाई प्रमाणित गरिसकेका छन्। वधशाला, साँघुरो, टलकजंग भर्सेस टुल्के, छड्के, सेतो सुर्य, तान्द्रो जस्ता चलचित्रबाट उनले आफुलाई प्रमाणित गरिसकेका छन्। ‘लुट’ चलचित्रमार्फत आफ्नो पहिचानको सुरुवात गरेका दयाले ,’कबड्डी’ को सिरिज मार्फत कमर्सियल रुपमा आफुलाई स्थापित गरे। हिट मेसिन बनेका दया चलचित्र सेलेक्सनमा चुकेका कारण नै बक्स अफिसमा कमजोर बनेको चर्चा चल्यो। आफ्नो करियरमा उनले धेरै बिर्सनलायक चलचित्रमा काम गरेका छन्।


बक्स अफिसमा कमजोर बनेका दयाकाका लागी बर्ष २०७९ साल निकै शुभ बनेको छ। उनी मुख्य भूमिकामा रहेका ३ चलचित्र बक्स अफिसमा सफल ठहरिएका छन्। नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्र ‘कबड्डी ४’ यहि बर्ष रिलिज भयो। मल्टिस्टारर चलचित्रको दयाको भूमिका पहिलो सिरिज बाट नै महत्वपूर्ण रहेको छ। उनकै वरिपरि चलचित्रको कथा घुमेको छ।

बर्षको दोश्रो हिट चलचित्र ‘दुइ नम्बरी’ बन्यो। दयाको साथमा सौगात मल्ल र उपासना सिंह ठकुरी चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। चलचित्रको अफिसियल कलेक्सन सार्वजनिक नभए पनि हिट बनेको निर्माण टिमले जानकारी गराइरहेको छ। दर्शकको साथ चलचित्रलाई राम्रो मिलेको छ।

पहिलो हप्ता दर्शकको राम्रो साथ पाएको चलचित्र ‘के घर के डेरा’ ले पनि बक्स अफिसमा राम्रो कलेक्सन गर्ने पक्का रहेको छ। दोश्रो हप्तामा पनि दर्शकले चलचित्रलाई राम्रो साथ दिएका छन्। चलचित्रमा दयाको साथमा विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन्।
दयाले बक्स अफिसमा हिटको ह्याट्रिक लगाउने पक्का छ । यो बर्ष दया दोश्रो सन्तानको पिता बनेका छन् भने आफ्नो नयाँ घरमा समेत सरेका छन्।
बर्ष २०७९ दयाका लागी उत्कृष्ट ठहरिएको छ। आगामी करियरमा उनी कस्ता चलचित्र छनोट गर्नेछन् र आफुलाई कसरि अगाडी बढाउनेछन् त्यो भने दयालाइ नै थाह होला।

प्रतिक्रिया दिनुहोस्