सागरले ल्याए एकैदिनमा दुईवटा गीतको किताब


काठमाडौँ । गीतकार सागर उदासले एकै दिनमा आफ्ना दुईवटा गीति कृति सागर सुसेली र फैलिन्छ कि माया ल्याएका छन् ।

 गण्डकी वाङ्यमय प्रतिष्ठान तनहुँका अध्यक्ष समेत रहेका सागरले काठमाडौँको साहित्यिक माहौलमा कृति सार्वजनिक गर्न रुचाए । वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण समारोहमा गायक तथा सङ्गीतकारको उतहजनक उपस्थिति थियो । कन्सेप्ट नेपालको ब्यानरमा अनामनगरको सिलौटो कटेजमा भएको समारोह पृथक् किसिमको थियो । 

प्रमुख अतिथि मुकारुङले गीत सिर्जनामा सागर निकै ऊर्जाशील भएको बताउँदै गीतमा पनि नयाँ नयाँ प्रयोग हुनु पर्ने बताए । वरिष्ठ गजलकार ललिजन रावलले गीतकार उदास गीति चेतनाले भरिएका सर्जक भएको दावी गरे । वरिष्ठ गीतकार रमेश पौडेलले साहित्यमा राजधानी र मोफसलको साँधसिमा भत्कनु पर्ने तर्क राख्दै सागर अर्ग्यानिक गीतकार भएको दावी गरे । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले कृतिको समीक्षा गर्दै सागरका गीत सबैको मन छुने खालका भएको बताए । 

वरिष्ठ सङ्गीतकार बीबी अनुरागीले सागरमा गीतमा दुई दशक अघि नै आफूले सङ्गीत भरेको र उनका गीत मर्मस्पर्शी हुने बताए । अर्का गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीले कृतिका गीतले सङ्गीत भर्ने ऊर्जा दिएको बताए । 

गीतकार सागर उदासले आफु बर्मामा जन्मे पनि पुर्ख्यौली थलो तनहुँको माटोले गीतकार बनाएको अनुभव सुनाउँदै अनलाईबाटै आमाको शुभेच्छा सुनाए । 

कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यको अध्यक्षतामा भएको विमोचन समारोहमा गीतकारका बारेमा कवि गीतकार दीपेन्द्र थापा र सुरेन्द्र रानाले गीतकार सागरले आफ्नो उपनाम उदास नभै रसिक राख्नु पर्ने बताए । 

चालीसको दशकदेखि साहित्य सिर्जनामा लागेका अर्जुन अधिकारी उर्फ सागर उदासका यस अघि सागर भित्रका कणहरू गीत सङ्ग्रह,आभार गीति एल्बम,रवि गीति एल्बम प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्