प्रतिक्षित चलचित्र ‘प्रसाद २’ विवाद: निर्माताको पैसा तिर्ने बाचा, रिलिज अन्यौल


चैत्र २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘प्रसाद २’ को विवादले सधै घेरिदै आएको छ। निर्माण देखि नै विवादास्पद बनेको चलचित्र रिलिज सम्म आइपुग्दा पनि विवाद सकिने देखिएको छैन। चलचित्रका निर्माता सुभाष थापाविरुद्ध चलचित्रका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरी दिएपछि प्रहरीले थापालाई खोजिरहेको खबर बाहिरिएको थियो। त्यस्तै पाण्डेले केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि चलचित्रको रिलिज अन्यौलमा परेको छ। रिलिजको लागी तीन दिन मात्र बाँकी रहंदा चलचित्रको प्रचार समेत हुन सकेको छैन। निर्माता थापा फरार रहेको खबर बाहिरिएपछि उनले आफ्नो समाजिक संजाल मार्फत चलचित्र प्रदर्शन भएपछि सवैको पैसा तिर्ने बाचा गरेका छन्। सोमबार थापाले फेसबुकमा आफ्नो नियत खराब नभएको र नियतिको कारण वचन पूरा गर्न नसकेको लेखेका छन्।

यस्तो छ उनले लेखेको पूर्ण स्टाटस :
नमस्कार
म सुवास थापा प्रसाद र प्रसाद २ को निर्माता । मेरो चलचित्र प्रसाद २ रिलिजको पुर्वसन्ध्यामा छ । तर चलचित्र निर्माणको सम्बन्धमा केही बाधा आईरहेको छ । जुन मेरो चलचित्र बनाउने हुटहुटी र मैले चलचित्र निर्माणमा जानी नजानी गरेको गल्तीको कारण उत्पन्न भएको हो । प्रसाद २ निर्माणको क्रममै पनि पटक पटक बिभिन्न अवरोधहरु आए । तथापी सम्पुर्ण अवरोध छिचोल्दै प्रसाद २ निर्माण सम्पन्न गरि रिलिजको अवस्थामा‌ पुग्यो । मैले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने बचनबद्धता प्रकट गरे । तर समयमा रिलिज हुन नसक्दा मेरो बचनबद्धतामा म चुके । तथापि अब रिलिजको सम्पुर्ण तयारीमा‌ रहेको हुदा चलचित्र प्रदर्शनमा‌ सहयोगको लागि सबैमा‌ आग्रह गर्दछु । मेरो नियत खराब हैन नियतिको कारण मैले बचन पुरा गर्न नसकेको हो । चलचित्र रिलिज पछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र‌ म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्र सँग सम्बन्धित कुनै सँस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्ने लाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा‌ मेरो‌ मन्जुरी छ । यो चलचित्रमा‌ धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शन पछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला सँघ सँस्था, ब्यक्तिमा‌ आग्रह गर्दछु ‌। नतिर्ने मेरो नियत हैन, नियतिले यो अवस्था‌ आयो । सहयोगको आग्रह सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु।

सुदर्शन थापाले निर्देशन गरेको प्रतिक्षित चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्