‘नयाँ प्रतिभालाई अवसर दिनुपर्छ’ : निर्माता राजाराम बुढाथोकी


केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो चलचित्र निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ माघे सङ्क्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । यही चलचित्रमार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘पर्खी बसें’ झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार डेब्यु गराएका छन् । कमेडी र एक्सन चलचित्रको सङ्ख्या बढिरहदा निर्माता बुढाथोकीले प्रेम कथानकलाई दर्शक माँझ ल्याउनु उपयुक्त रहेकाले सोही योजना अनुरुप चलचित्र निर्माण गरेको बताए ।

‘कलाकार नयाँ भए पनि अभिनय हेर्दा वा प्रचारप्रसार सामग्री हेर्दा सबैले राम्रो भन्नु भएको छ । केही वर्ष आगाडि यहिँ नामबाट निर्देशक श्रेष्ठले डेब्यु गराउनु भएका कलाकारहरू स्थापित हुनुभयो । हामीले पनि सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौँ’, निर्माता बुढाथोकीले भने ।

उनले नयाँ प्रतिभालाई अवसर दिनु मेकरको दायित्व रहेको समेत बताए । पहिलो चलचित्र भए पनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन् ।

उनले निर्देशक श्रेष्ठलाई राम्रो चलचित्र बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको बताए । सिक्किम र नेपालको काठमाडौँ, ललितपुर, कालिन्चोक लगायतका रमणीय दृश्य छायांकन गरिएको चलचित्रले आँखालाई शितलता दिने उनको भनाई छ ।

‘हामीले विशुद्ध प्रेम कथा लिएर आएका छौँ । अहिलेका पुस्ताको प्रेम, विछोड तर बेदनालाई देखाईएको छ । यसको पात्रसँग युवाले धेरै नै रिलेट गर्नु हुन्छ भन्ने लागेको छ’, निर्माता बुढाथोकीले भने ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
चलचित्र काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्