‘एक मुठ्ठी बादल’मा आँचल शर्मा


अभिनेत्री आंचल शर्माले यो बर्ष लगालग चलचित्र साइन गरिरहेकी छिन्। ‘नाई न भन्नु ल ६’ ले अपेक्षाकृत व्यापार नगरेपनि आंचल एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेकी छिन्। ‘डिग्री माइला’ को सुटिङ्गमा व्यस्त रहेकी आंचलको पाइपलाइनमा ‘पञ्चामृत’ र ‘राजमहल’ रहेका छन्। यहि बिचमा आंचलको नयाँ चलचित्रको घोषणा भएको छ। साहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’ को पोष्टर सार्वजनिक गरिएको छ।

आंचललाई चित्रित गरिएको पोष्टरमा उनी हातमा मेहेन्दी र रातो सारीमा सजिएकी छिन्। पृष्ठभूमिमा भर्खरकी युवती रुपमा आंचल देखिएकी छिन्। आंचलको साथमा सुयोग अधिकारीको अभिनय चलचित्रमा रहनेछ। अभिमन्यू दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुति रहेको चलचित्रको फागुनबाट पोखरमा सुटिङ्ग सुरु हुनेछ। ढाका इन्टरनेसनल फिल्म फेस्टिभलको मार्केट र ल्याबमा सन् २०२५ मा चलचित्र देखाउने तयारी गरिएको छ।

चलचित्रको पोष्टर शेयर गर्दै आंचल लेख्छिन्, ‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?
एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौँ ।’

प्रतिक्रिया दिनुहोस्