‘अगस्त्य’ को टिजरलाई प्रशंसा, सौगात र नाजिरको तारिफ


चलचित्र ‘अगस्त्य’ को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो चलचित्रको टिजर रिलिज भएदेखि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ। चलचित्रका लागि नाजिरले २० किलो तौल बढाएका थिए भने सौगातले आफ्नो तौल घटेका थिए । दुई भिन्न लुक्समा देखिएका सौगातको मिहेनत चलचित्रमा प्रष्ट देखिन्छ। अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ । टिजर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ ।

टिजर मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले होस् या प्रमोद अग्रहरी र निश्चल बस्नेतको झलकले सबैको ध्यान तान्न सफल भएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ ।

टिजर सार्वजनिक भएको ३ दिनमै युट्युबमा करिब तीन लाख जनाले हेरेका छन् । फागुन १८ गतेबाट रिलिज हुने चलचित्रका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले चलचित्र उत्कृष्ट बनाउन गरेको मिहेनत प्रष्ट देखिन्छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।


चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्