बुकिङ्ग खुलेको ‘दयारानी’ लाई देशभित्र उल्लेख्य शो, विदेशमा ४ सय बढी शो


आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ चलचित्रको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। चलचित्रले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ । ‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले दयारानीलाई ६ शो दिएको छ भने वान सिनेमाज्ले ९ शो दिदां एफक्युब सिनेमाज्ले ४ , आइएनआइले १२ शो दिएका छन् । त्यसैगरी रञ्जना, सिके बिएसआर, सिडिसी र क्युज सिनेमाले पनि यस्तै अनुपातमा शोहरु छुट्याएका छन् । दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ। दुबै देशमा चलचित्रको करिब ४ सय शो निश्चित भइसकेको छ ।

चलचित्रको ओभरसिज वितरण खरिद गरेको सेभेन सिज इन्टरटेनमेन्टले हिन्दी र अंग्रेजी ठूला चलचित्रका बाबजुत नेपाली चलचित्रले धेरै शो पाएकोमा उत्साह व्यक्त गरेको छ । अमेरिकाका २३ थिएटरमा चलचित्रको १ सय ९७ शो पक्का भएका छन् । चलचित्र डलास, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइनेछ। त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ । अष्ट्रेलियामा उल्लेख्य मात्रमा नेपाली जनसङ्ख्या भएका सबै प्रमुख सहरमा चलचित्र रिलिज हुनेछ । सेभेन सीज इन्टरटेनमेन्टका अनुसार ‘दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ। सेभेन सीज इन्टरटेनमेन्ट ग्लोबल चलचित्रको बक्स अफिसमा नेपाली चलचित्रहरू प्रदर्शन गर्न सक्ने प्रभावशाली कम्पनी हो। बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्