सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत ‘दिनपछि रात’ 


 काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमूलक म्युजिक भिडिओ सार्वजनिक भएको छ। 

करिब आठ मिनेट लामो भिडिओ भरि अहिलेका युवाहरुलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ । उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडिओले दिन खोजेको छ। 

 आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन्। भिडिओबारे गायक केसी भन्छन्,’समस्या आइपर्दा कहिलेकाहीँ हामी के गर्ने के गर्ने छुटाउन सक्दैनौ। अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौ। यो समस्या विशेषत युवाहरूमा बढी देखिने गर्दछ। उनीहरूलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ। त्यसैले अहिलेका युवाहरूलाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो।’

‘मर्ने त मरेर जान्छन। तर कति दुख गरेर हुर्काएका ती आमाबुवामा यहाँ के बित्छ त्यो मरेर जानेले सोच्दैनन्। हरेक समस्याको समाधान हुन्छ। त्यसैले मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको छु,’उनले जोडे। सार्वजनिक गीतको भिडिओमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी, आदि लगायतका कलाकारले अभिनय गरेका छन्। गीतमा गणेश सुबेदीको शब्द छ। सन्दीप कार्कीको म्युजिक तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। पृथक् रेकर्डसमा रेकर्ड गरिएको गीतमा नगेन्द्र राईको बाँसुरी, रोहित शर्माको असिस्टेन्ट क्यामरा र मिलिन्द शाक्यको साउन्ड छ। 

भिडिओलाई निर्देशक महेश केसीले निर्देशन गरेका छन्। भिडिओको सम्पादन पनि उनी स्वयंले गरेका हुन। भिडिओ सुवास केसीको आफ्नै आधिकारिक युट्उब च्यानल ‘इम्पेरिओ एजुकेसन’ मार्फत सार्वजनिक भएको छ। उनी इम्पेरिओ एजुकेसनका संस्थापक हुन। यो उनको पहिलो सृजना भने होइन । उनले दुई वर्ष अगाडि ‘चम चम’ बोलको गीत निकालेका थिए। गीतको भिडिओमा उनी आफैले अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्