‘डिग्री माइला’ को आक्रमक ओपनिङ्ग, आज बाट कस्तो रहला व्यापार?


दयाहाङ राई स्टारर चलचित्र ‘डिग्री माइला’ले देशैभर आक्रमक व्यापारको सुरुवात गरेको छ । शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको चलचित्रले मध्यान्हबाट हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोबिन्द शाहीले दिएका छन् ।

शनिबार बिहानै देखि साँझसम्मका शोमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । बिहानदेखि हाउसफुल बनेको चलचित्रलाई राति ११:४५ सम्मको शो उपलब्ध गराएका छन् । चलचित्रले पाएको सवै शोमा आक्रमक रुपमा टिकटहरु विक्री भइरहेका थिए । केही चलचित्र हलले शोसमेत थपेका छन् ।

चलचित्रप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् ।

दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिन १० बजे बिग मुभिज कमलपोखरी पुगेका दयालाई हलमै एक्कै स्वरमा जन्मदिनको शुभकामना दिएका थिए । अभिनेता दयाले दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए ।

अभिनेता दयाले यसरी जन्मदिनको दिन दर्शकको उत्साहसँग जन्मदिन मनाउदै फ्यानलाई खुशी बनाएर फकाउन सक्दाको सन्तुष्टी बेग्लै हुने बताए । डिग्री माइलाले दिन खोजेको सन्देश ग्रहण गरेको प्रतिक्रिया हल भिजिटको क्रममा दर्शकबाट मिलेको पाउँदा आफुहरु त्यसमा सफल भएको आभाष गरेको सुनाए ।

अभिनेत्री आँचल शर्माले दर्शकको उच्च साथ पाउँदा उत्साहीत भएको बताइन् । शुक्रबार र शनिबार विभिन्न हलमा पुग्दा दर्शकले डिग्री माइलाकी कवितालाई रुचाएको र दया दाईसँग जोडी सुहाएको प्रतिक्रिया पाउँदा खुशी मिलेको सुनाइन् । आगामी दिनमा पनि दर्शकबाट यस्तै साथ र मायाको अपेक्षा रहेको उल्लेख गरिन् ।

चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले दर्शकबाट यो लेवलको साथ पाउँदा खुशी मिल्ने बताए । बाँसुरी फिल्मस्ले हरेक पटक दर्शकको चाहाना अनुसार नै चलचित्र निर्माण गरिरहेकाले उनीहरुले हामीलाई विश्वास गरेका बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्