पूर्वेली दर्शक भेट्न निस्किए दया, आंचल र विजय


चैत्र ३० गतेबाट रुकुज भएको चलचित्र ‘डिग्री माइला’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रले सुरुवातको २ दिनमा नै ३ करोडको ग्रस कलेक्सन गर्न सफल भएको थियो। काठमाडौंका विभिन्न हलमा पुगेर चलचित्रको टिमले दर्शकसंग भेटघाट गरेको थियो । काठमाडौं पश्चात चलचित्रको टिम अव पूर्वका दर्शक भेट्न हिडेको छ ।

दयाहाङ राई, आंचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल सहितको टिममा मोफसल यात्रामा निस्केको हो । बिराटनगरबाट सुरु हुने भेटघाट यात्रा बिर्तामोड पुगेर टुंगिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा चलचित्र हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछ। यसक्रममा उनीहरु विराटनगरका, विभिन्न चलचित्र हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा चलचित्र हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्