प्रदिप खड्का: आफैलाई भर्सटायल बनाउदै अब्बल प्रमाणित हुदैँ


अभिनेता प्रदिप खड्काले असफल सुरुवातलाई सफल करियर यात्रामा परिणत गरिरहेका छन्। ‘प्रेमगीत’ मार्फत दर्शक र मेकर्समाझ उदाएका प्रदिपले आफुलाई भर्सटायल अभिनेताको रुपमा प्रमाणित गरिरहेका छन् । रोमान्टिक चलचित्रमा आफुलाई स्थापित गरेका प्रदिप पछिल्लो समय चरित्र निर्माण र प्रस्तुतीमा आफुलाई ढालिरहेका छन्। प्रदिप चकलेटी अभिनेताको परिचय बोकेर हिडिरहेका छन्।

तर उनका चरित्रचित्रणले उनलाई भर्सटायल अभिनेताको रुपमा प्रमाणित गरिरहेको छ। प्रकाश चलचित्र मार्फत प्रदिपले आफुलाई अब्बल साबित गरिसकेका छन्। स्थानीय लवज, हिडाई, पहिरन सवैलाई टपक्क टिपेर प्रदिपले अभिनय गरिरहेका छन्। जेठ १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’ को ट्रेलरमा प्रदिप नै हाबी भएका छन्। उनले यो पटक मैतबहादुरको चरित्र निर्वाह गरेका छन्।

मैतबहादुर एउटा रमाइलो चलचित्रको रुपमा ट्रेलरमा प्रस्तुत भएको छ। उनको लवज, एक्सप्रेसन र चन्चलपनले दर्शकको मन जित्ने पक्का छ। दिनेश राउतले प्रदिपमा ल्याएको यो निखारता निकै तारिफयोग्य रहेको छ। आर्यन सिग्देल, पल शाह, परिक्षा लिम्बु र अञ्जना बराइलीका पात्रलाई पनि दिनेशले आकर्षक ढंगले प्रस्तुत गरेका छन्। चलचित्रको ट्रेलरमा प्रदिपले ध्यान खिच्न सफल भएका छन्। जातिय विभेदको कथामा कोरिएको चलचित्रलाई विकास सुवेदीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्