‘महाराजधिराज’ मा न्युड पल शाह, फूलपातीमा रिलिज तय
पल शाह प्रमुख भूमिकामा रहने चलचित्र ‘महाराजधिराज’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसरमा रिलिज गरिएकोको पोष्टरमा पललाई दुई फरक अवतारमा देखाईएको छ। एक तस्विरमा पल नग्न रहेका छन् भने अर्कोमा राजर्षी भेषमा रहेका छन् । राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ । उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ । यसले आफ्ना दरसन्तानको सम्झनामा पछिल्लो पुस्ताले फ्रेमिङ गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, प्रष्ट छैन ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । फस्टलुक पोस्टर र स्लोगनको कारणले चलचित्रले दर्शकहरूलाई गहिरो सन्देश दिने अपेक्षा गरिएको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै बाँकी सामग्री ट्रेलरमा आउने बताएको छ । जसअनुसार अब ट्रेलर सार्वजनिक भएपछि थप जानकारी पाइनेछ ।
परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् भने प्रस्तुतकर्ता विराज बिष्ट रहेका छन्। चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।