‘लाज शरणम्’ को प्रचार रोक्न किन दियो उच्च अदालतले आदेश?


चलचित्रका प्रचार सामाग्री सार्वजनिक भएसंगै चलचित्र ‘लाज शरणम्’ मा अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टरको चर्चा चुलिएको थियो। उनको गेटअप, हाउभाउ र लवज पुर्व मन्त्री मोहम्मद अफ्ताव आलमसंग मिल्दो जुल्दो रहेको थियो। यहि मिल्दोजुल्दो क्यारेक्टर अहिले चलचित्रको टिमका लागी सकसको बिषय बनेको छ। पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसार सामाजिक संजाल र संचार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ।

मन्त्री आलमले आफ्नो अनुहारसँग मिल्ने पहिरन, गेटअप, जिउडाल, कपाल मिलाउने शैली, हाउभाउ र लबज अनुमतीविना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले, चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश दिँदै अदालतले सामाजिक संजाल र मिडियाबाट कुनै पनि प्रचार सामाग्री सार्वजनिक नगर्नु भन्दै अन्तरिम आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचारमाध्यममा प्रचारप्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

चलचित्रले बुधाबर आफ्नो ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको थियो । अव अदालतको आदेशपछि यो सम्भव नहुने प्राय देखिएको छ। चलचित्रको टिमलाई अव चाडो सेन्सर पास गर्नु पर्नेछ। सेन्सर पास भएमा चलचित्रले आफ्नो प्रचारप्रसार र रिलिजको सहजबाटो पाउनेछ। जेपीटी क्रियशनले निर्माण गरेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। यो चलचित्रमा सिताराम सहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाल, प्रियाना आचार्यको अभिनय छ । नविन श्रेष्ठले निर्माण गरेको चलचित्रमा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्