सेन्सरमा रोकियो ‘ताण्डवम्’ , हिंसात्मक दृश्य बढी भएको सेन्सर बोर्डको ठहर
फागुन ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’ को सेन्सर रोकिएको छ। सेन्सर बोर्डले चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सर पास गर्न रोकेको हो। बुधबार प्रिमियरको तयारी गरेको चलचित्रको टिम मंगलबार सेन्सरको लागी गएको थियो। सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेर निर्देशक जुनीम गहतराजले बताएका छन्।

उनले भने–‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै चलचित्र सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि चलचित्रको मर्म मर्छ ।’ दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्विकार गरिएको छ ।बदलाको कथामा बनेको चलचित्रमा जुनीमको साथमा सरिना मगर, अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की लगायतका कलाकारहरुको अभिनय छ । सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।