रेशम र हरियाको कथा बोकेर ‘फेरी रेशम फिलिली’ निर्देशन गरेका निरोजको अनुभूति र आत्माविश्वास


२०७२ सालमा चलिरहेका ट्रेन्डका चलचित्र भन्दा भिन्न कमेडीको फरक स्वाद बोकेर चलचित्र ‘रेशम फिलिली’ रिलिज भयो। ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण रुचाइएको चलचित्रले सुर्को दिनमा नै आक्रामक व्यापार गरेको थियो। भुकम्पको असरले चलचित्रले प्रदर्शन सोचेजस्तो गर्न पाएन। यसको झन्डै दशकपछि चलचित्रको सिक्वेल आउंदै छ। ‘फेरी रेशम फिलिली’ शिर्षकमा तयार भएको चलचित्रको सिक्वेललाई डेब्यू निर्देशकले निर्देशन गरेका छन्। अक्सर सिक्वललाई पुरानै निर्देशकले निर्देशन गर्छन् यसको हकमा भने निर्देशक नयाँ हुने भए ।

लेखन र निर्देशनको जिम्मेवारी निरोज महर्जनले सम्हाले। निरोज चलचित्र ‘रेशम फिलिली’ निर्माण प्रक्रियामा पनि संलग्न थिए । ‘त्यो टिमको सदस्य नै थिए । कहिले असिस्ट गरिराको हुन्थे । कहिले विनय दाइ (विनय श्रेष्ठ) को डायलग लेखिरहेको हुन्थे । त्यसमा प्रोडक्सन मेरो मामाले हेरिरहनु भा’ थ्यो । निर्देशक (प्रणव जोशी) सँग पहिलेदेखि चिनेको तथा काम गरिरहेको थिए नै । म्यूजिक भिडियोहरुमा सँगै काम गरिरहेका थियौं । त्यो चलचित्रमा एउटा सानो भूमिका पनि गरेको छु’, उनले भने ।

सिक्वेल निर्देशन र पुरानो साख जोगाउन नै चुनौतीको बिषय हो। यस्तोमा निरोजले किन यहि चलचित्रलाई डेव्यु निर्देशन गर्ने जिम्मा लिए त ?

उनी भन्छन्- ‘सबै कुरा जुर्दै गयो । हामी चलचित्र गर्ने भनेर हिँडिराथियौं । फेरि यो एउटा चलिसकेको नाम पनि हो । मलाई लाग्यो – डेब्यूका लागि यो भन्दा अर्को उत्कृष्ट अवसर होला र भयो। त्यसका अलावा पूर्णरुपमा यो कथा मेरो हो । मलाई भन्न मन लागेको कथा । फिलिलीको दुनियाँमा मिलेको कथा भएर गरेको हुँ।’


उनी आफ्नो चलचित्रले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । यो चलचित्रले दर्शकलाई वाचा गर्ने भनेको हाँसोको भरपुर मनोरञ्जन हो । चलचित्रमा दुई मूल पात्र छन् – रेशम र हरिया , जहाँ हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले चलचित्रको कथालाई कमेडीको उचाइमा लादैं दर्शकलाई मनोरञ्जनको डोज पस्कन्छ ।

निरोज आफ्नो यो चलचित्रले पुरानो नोस्टालजियालाई अनुभूत गराउने बताउँछन् । चलचित्रले रेशम र हरियाको मित्रताका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिदैं जसरी अहिलेको नेपाली समाजले विकशित मुलुक जानेलाई रोमान्टिसाइज गर्ने र खाडी मलेसियामा जानेप्रति राख्ने इत्तर दृष्टिकोण राख्छ यही कथा यसले भन्छ। यसैगरी निरोज यो चलचित्रलाई पहिलेको कथाको निरन्तरता भन्दा पनि रेशम र हरिया पात्रको मित्रताको नोस्टालजियामा भनिएको फरक परिवेशको कथा भन्न रुचाउँछन् ।

‘रेशम र हरियाको मित्रताको नोस्टालजिया यसले बोक्छ । त्यसका अलावा चलचित्रले पूर्णतया नयाँ विषय र कथा प्रस्तुत गर्छ।’
चलचित्र फागुन १४ गते शिवरात्रीका दिनमा रिलिज हुँदैछ। निर्देशकको रुपमा यो चलचित्रबाट आफ्नो परिचय स्थापित हुनेमा निरोज ढुक्क रहेका छन्।

प्रतिक्रिया दिनुहोस्