‘फेरी रेशम फिलिलीमा मेरो रोललाई दर्शकले कसरी लिनुहुन्छ भन्ने पर्खाइमा छु’ – सुपुष्पा भट्ट


अभिनेत्री सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’ मार्फत नेपाली रजतपटमा डेब्यु गरिन्। यो चलचित्रमा उनी अडिसन मार्फत छनोट हुँदै सिल्भर स्क्रिन प्रवेश गरेकी थिइन्। उनै सुपुष्पालाई दर्शकले नेपाली चलचित्रको पर्दामा नदेखेको लामो समय भयो । अव भने दर्शकको पर्खाइ ‘फेरि रेशम फिलिली’ बाट पूरा हुँदैछ। उनको होम प्रोडक्सन सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता रौनक विक्रम कँडेल हुन्। रौनक अभिनेत्री भट्टका श्रीमान हुन्।

रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको बारेमा सुपुष्पामा निकै आशावादी रहेकी छिन्। आफ्नो काम र चलचित्र दुवै दर्शकले रुचाउने विस्वास सुपुष्पाको रहेको छ। चलचित्रमा उनी ‘फिलिली गर्ल’ बन्दै छिन्।

चर्चित ब्रान्डको सिक्वेलमा मुख्य भूमिकामा रहँदा उनको अनुभूति कस्तो रहेको थियो त?

सुपुष्पा भन्छिन् – ‘सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो चलचित्रमा काम गर्न पाएँ भनेर खुशी भएँ।’

निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन्। त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि। यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन्। यो चलचित्रको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन्। त्यसैले उनलाई पहिलो चलचित्रको चुनौती सामना गर्ने चुनौती छ।

कस्तो छ त ‘फिलिली गर्ल’ को भिन्नता?

‘त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक-अर्कासँग बिल्कुलै फरक छन्।’ सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ।

‘मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु। त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ।’ योसँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को चलचित्रलाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो।

मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् – ‘अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ।’ चलचित्र गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ – चलचित्रको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस्।

संयोगवश ‘फेरि रेशम फिलिली’ त्यस्तै चलचित्र भइदियो उनका लागि। स्क्रिप्ट त राम्रो छ नै, यो चलचित्रको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ। ‘मलाई चलचित्रको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो चलचित्रमा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो”, उनले खुशी व्यक्त गरिन्।

उनले गरेको पात्र ‘च्यालेन्जिङ’ भएको उनको भनाइ छ। त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा लिने हो भन्ने चिन्ता भइरहेको छ। ‘चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ। एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,’ उनले भनिन्।

फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुने चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

प्रतिक्रिया दिनुहोस्