तुलसी घिमिरेले सुरु गरे ‘पहाड’ छायांकन


माघ २२ गते शुभसाइत गरेर छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र ‘पहाड’ को छायांकन निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको थियो। छायांकनको दोश्रो दिन नै रोकिएको चलचित्र फागुन ९ गतेबाट पुन: फ्लोअरमा गएको छ। निर्देशक घिमिरेको स्वास्थ्यमा सुधार भएपछी छायांकन सुरु भएको हो।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको यो चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकमाझ ल्याउने निर्देशक घिमिरेको भनाई छ । स्वास्थ्यलाभ गरेर छायाङ्कनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । चलचित्रको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्माणपक्षले बताएको छ ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक घिमिरेकी कान्छी छोरी पन्चमी घिमिरेले अभिनेत्रीको रुपमा यहि चलचित्र मार्फत डेव्यु गर्दैछिन्। चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रियटिभ निर्देशक रहेको चलचित्रमा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्