पल र दिपिकाको ‘मायावी’ सवैले हेर्न पाउने, बुधबार रिलिज हुँदै


फागुन १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मायावी’ को सेन्सर भएको छ। केन्द्रिय चलचित्र जांच समितिले चलचित्रलाई युनिभर्सल सर्टीफिकेट दिएको छ। दिवाकर भट्टराईको कथा तथा निर्देशनमा तयार भएको चलचित्रलाई अब सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। बुधबारबाट रिलिज तयारीमा रहेको चलचित्रको आज प्रिमियर समारोह राखिएको छ ।

चलचित्रमा पल शाह, दिपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान, प्रशान्त ताम्राकार, रवि डंगोल लगायतका कलाकारको अभिनय रहेको छ। क्रिएटिभ सिने आर्ट्स प्राइभेट लिमिटेडको प्रस्तुतीमा तयार भएको चलचित्रमा धुर्व न्यौपाने, चन्द्र पन्त र राज कटुवालको लगानी रहेको छ।

देशका विभिन्न १२ शहरमा चलचित्रको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, चलचित्रको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ ।
पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो। चलचित्र क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो । तर, दर्शकलाई चलचित्रको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली प्रभावकारी मानिन्छ । यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्