‘मायावी’ हेरेपछि राजेश हमालको प्रतिक्रिया, ‘यो लभ स्टोरी चलचित्र विशेष छ।’
फागुन १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मायावी’ को सोमबार किर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा भव्य प्रिमियरको आयोजना गरिएको थियो। नेवारी बाजागाजा र नेवारी भोजन सहित गरिएको प्रिमियरको माहोल रोचक रहेको थियो। सेलिब्रेटी र पत्रकारको बीचमा गरिएको प्रिमियरको मुख्य आकर्षण महानायक राजेश हमाल रहेका थिए । उनले पुरै समय बसेर चलचित्र हेरेका थिए। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘नरसिंहा’ बाट राजेशले कमब्याक गर्दैछन्। सोहि कारण पनि किर्तिपुर पुगेर उनले चलचित्र पुरै हेरेका थिए।

चलचित्र हेरेपछि हमालले भने–‘यो चलचित्रमा हरेक कुरा छ । चलचित्रको कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरूले पनि निकै राम्रो काम गरेका छन् । यसैले, मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’
हमालले अगाडि भने–‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभ स्टोरी चलचित्र विशेष छ ।’
नायक हमालले यसको प्रस्तुति निकै मन परेको बताए । हमालले भने–‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । यसैले दिवाकरजीलाई वधाई दिन चाहन्छु । चलचित्रको सुरुवातदेखि अन्त्यसम्म एउटा गति समातेर अगाडि बढेको छ । यसैले, दर्शकले यो चलचित्र मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरू सनिसा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । यस्तै, चलचित्र मुख्य कलाकारहरू दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान पनि पुगेका थिए । नायक पल शाह भने अर्को एक चलचित्रको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।
