‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशकको ‘कोशेढुंगा’ को शुभमुहूर्त
ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्र ‘कोशेढुंगा’ को आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।

करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी चलचित्रको सुटिङका लागि स्याङ्जा जानेछ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतका कलाकारको अभिनय रहनेछ। महिला प्रधान चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन् ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् । निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ ।