प्रिमियरमा ‘फेरी रेशम फिलिली’ को सेलिब्रेटी प्रतिक्रिया कस्तो छ ?
बुधबारबाट रिलिज भएको चलचित्र ‘फेरि रेशम फिलिली’को मंगलबार प्रिमियर शो आयोजना गरिएको थियो । सिनेमा आर्टस् को व्यानरमा निर्माण भएको चलचित्रको प्रिमियरमा धेरै सेलिब्रेटीको उपस्थिति रहेको थियो। १० बर्ष अगाडी रिलिज भएको चलचित्रको सिक्वेल भएको कारण पनि यसलाई लिएर आमन्त्रित पाहुना उत्साहित रहेका थिए। प्रिमियर अगाडीको उत्साहा र कौतुहलता प्रिमियर सम्पन्न हुँदासम्म अतिथिको हँसिलो मुहारले सन्तुष्टि व्यक्त गरिरहेको थियो ।

अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी चलचित्रको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली चलचित्रको प्रिमियरमा बिरलै हुने गर्छ। उनीहरूले क्यामरा अगाडि खुलेरै सिनेमाले पेट मिचिमिचि हसाएको भन्दै चलचित्रको तारिफ गरे।
प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई चलचित्र ‘फिलिली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्रलाई ‘बबाल रमाइलो’ भन्दै थम्सअप गरे।
यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले चलचित्र आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने चलचित्रका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले चलचित्र ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। कमेडी च्याम्पियन टिमले चलचित्रको खुलेर प्रसंसा गरे। चलचित्र हेर्न अमान्त्रित पाहुनाले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएपछि यसो व्यापारमा यसले थप फाइदा पुग्ने देखिन्छ। १२० बढी पर्दामा एकसाथ रिलिज भएको चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका छन्।