‘लाज शरणम्’ दर्शक प्रतिक्रिया: धुर्मुसको क्यारेक्टर र महेश त्रिपाठीको अभिनय सम्झनायोग्य


फागुन १४ गते बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् । रिलिज तीन चलचित्रमा व्यापारिक हिसाबले पनि चलचित्र अगाडी रहेको छ। चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् ।

“धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा चलचित्र मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।”


बिशेष गरि चलचित्र हेरेका दर्शकले कर्णालीका दृश्य र उठाएको कथालाई मन पराएका छन्। चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ । सुन्दर कर्णालीको दृश्य समेटिएको चलचित्रमा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।

महेश त्रिपाठीको अभिनयलाई दर्शकले खुलेर प्रसंसा गरिरहेका छन्। उनको अभिनयको बलले सिंगो चलचित्रलाई सजिव बनाएको छ ।अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेशको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने चलचित्र बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेशले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्