प्रकाश सपुतको ‘वसन्त’ को हरर रोमान्टिक गीत ‘बिना स्वादैको’ सार्वजनिक
गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ को दोश्रो गीत सार्वजनिक भएको छ । ‘बिना स्वादैको’ बोलको गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ ।

हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा चलचित्रका कलाकार प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।
आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका हलमा चलचित्र रिलिज हुँदैछ । चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।