‘महाभोज’ को छायांकन सकियो, रिलिज मिति कहिले ?


मल्टिस्टारर चलचित्र ‘महाभोज’ को छायांकन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्डक्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो ।

यो चलचित्रको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायाङ्कन गरिएको निर्देशक दिनेश राउतले बताए । निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । यस चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन् ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । चलचित्रको रिलिज मिति अहिलेसम्म तय गरिएको छैन। निर्माण टिमले उपयुक्त समय हेरेर रिलिज गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्