‘पिताम्बर २’ अगाडी कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माण हुने
केहि दिन अगाडी जापान पुगेर नयाँ चलचित्रमा काम गर्ने सम्झौता गरेकी निर्देशक कृषा चौलागाईको चलचित्रको नाम सार्वजनिक भएको छ। यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । चलचित्रले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो चलचित्रका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो चलचित्रलाई भदौबाट छायांकन गरिनेछ । चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ ।
चलचित्र ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’ पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रमा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।
एक महिनासम्म चलचित्रको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।