‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक
असार २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । कमल रसाइलीको स्वर, शंकर अधिकारी घायलको शब्द रचना तथा विशाल चौधरीको संगीत गीतमा रहेको छ। नेपाली कला-संस्कृति र विरताको बखान गीतमा गरिएको छ। भिडियोमा चलचित्रका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल लगायत फिचर रहेका छन्।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । निर्देशक नर प्रधान (मित्र)ले यो गीतले चलचित्रको कथावस्तुलाई दर्शाएको बताएका छन् । ज्ञान बहादुर प्रधान (रोशन) को निर्माण रहेको चलचित्रमा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको पनि अभिनय छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ । भु नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।