‘मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ’- बिष्णु सापकोटा


गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्ध समाप्त भएको कुरा अव खासै नौलो रहेन।  डिभोर्स गरेको लामो समयसम्म एलिना र विष्णु दुवैले यसको कारण र यस विषयमा आफ्नो प्रतिक्रिया दिएका थिएनन्।  तर सामाजिक सञ्जालमा सहने सीमा भन्दा बाहिरका कमेन्ट आउन थालेपछि एलिना त्यसको प्रतिकारमा निस्किइन्।  हरेकालाई सामाजिक सञ्जालमा पोस्ट गर्ने देखि कानुनी उपचारको बाटोमा लागिन्।

 यो बिचमा उनले केही मिडियामा अन्तर्वार्ता दिइन् । साइबर क्राइमको मुद्धाबाट सुरु भएका अन्तर्वार्ता अन्ततः उनको डिभोर्सको बारेमा कुरा गर्न पुगे।  उनले आफ्नो सम्बन्ध बिग्रनुका कारण खुलाउँदै जाँदा घरेलु हिंसा जस्तो जटिल विषय बाहिरियो । यो विषय बाहिरिएपछि विष्णुले सामाजिक सञ्जालमा धेरै नकारात्मक प्रतिक्रिया पाए।  नबोलेरै जितेको उपमा पाएका उनी अन्ततः फेरी सामाजिक सञ्जालको शिकार बने।  यही बिचमा विष्णुले आफ्नो धारणा सार्वजनिक गरेका छन्।  उनले चुप लागेर बस्नु आफ्नो कमजोरी नभएको उल्लेख गरेका छन्।  विष्णुले आफू मानसिक रूपमा विक्षिप्त रहेको र कानुनी लडाई मा लागेको बताएका छन्। 

यस्तो छ विष्णुले सार्वजनिक गरेको आफ्नो विचार:

नमस्ते सबै जनालाई

केही समयदेखि सामाजिक सञ्जाल, विशेष गरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टीकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ । ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु । हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन ।

हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ। दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ ।

सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो । सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ।

Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मैले के के भोगेँ, कुन अवस्थाबाट गुजें, र आफूलाई कसरी heal गरेँ – त्यो मलाई मात्र थाहा छ । बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ । अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ ।

कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्म- संयमका साथ सहेर बसेको छु। यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ।

प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

म स्पष्ट रूपमा भन्न चाहन्छु • अहिले मेरो बारेमा भइरहेका अनावश्यक TikTok भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन्। प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म- सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानि तथा व्यावसायिक नोक्सानीको क्षतिपूर्ति सहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।

मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको सङ्केत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ । अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ। कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?

अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनु भएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, तपाईँहरू सबैलाई अनुरोध गर्दछु – कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् ।

म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदै छु ।

भवदीय,

विष्णु सापकोटा 

प्रतिक्रिया दिनुहोस्