‘जहाजैमा’ को उडान अन्योल भएपछि ‘पारस’ तयारीमा कृषा
निर्देशक कृषा चौलागाईका प्रोजेक्ट निकै ठुलो स्केलमा निर्माण हुने गर्दछन् । पछिल्लो रिलिज चलचित्र ‘पिताम्बर’ त्यसको उदाहरण हो। यहि चलचित्रको निर्माण पछि निर्देशनमा आफुलाई स्थापित गरेकी कृषा अर्को चलचित्र ‘जहाजैमा’ निर्देशनमा तयारीमा रहेकी थिइन्। जापान पुगेर निर्माता उज्ज्वल गुरागाईसंग निर्माण सहमति गरेकी कृषाको यो चलचित्रको उडान उड्न सकेको छैन।

जापानी अभिनेत्री सहित सौगात मल्ल, केदार घिमिरे, अनुभव रेग्मी लगायतका कलाकारलाई अनुबन्ध गरिएको चलचित्रका यात्रु कलाकार नै यो उडानमा सहभागी नहुने भएका छन्। सौगात मल्लले टिकट क्यान्सिल गरिसकेका छन् भने केदारले पनि टिकट क्यान्सिल गरेको बुझिएको छ । दुवैले उडानका लागि लिएको पारिश्रमिक फिर्ता गरेको बुझिएको छ। यात्रुहरुले टिकट क्यान्सिल गरेपछि निर्देशक कृषाले अहिलेलाई ‘जहाजैमा’ को उडान रोकेको बुझिएको छ।
यो उडान रोकिएपछि उनी अर्को चलचित्रको तयारीमा रहेको बुझिएको छ। होम प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘पारस’ को तयारीमा उनी जुटेकी छिन्। ‘पारस’ को यात्रा पनि गज्जबको रहेको छ। निर्माता माधव वाग्लेले आफैंले निर्देशन गर्ने गरी अनमोल केसीलाई लिएर ६ बर्ष अगाडी चलचित्र निर्माणको घोषणा गरेका थिए । पछि भुवन केसीले आफ्नो होम प्रोडक्सनमा चलचित्र निर्माण गर्ने गरि स्वामित्व लिए। भुवनले पनि चलचित्र निर्माण नगरेपछि यहि नाममा कृषा चलचित्र निर्देशनको तयारीमा जुटेकी छिन्। यसको स्क्रिप्ट तयार भएको बुझिएको छ।