विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’ आजबाट प्रसारण हुँदै, महानायक ‘महाहोस्ट’ को रूपमा देखिदै
विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ विहीबारदेखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। सार्वजनिक प्रसारणमा आउनु अगाडी बुधबार काठमान्डौमा प्रिमियर शो गरिएको थियो। प्रिमियरमा सहभागीले शोमा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरेका थिए।

कार्यक्रमको ‘महाहोस्ट’ को रूपमा महानायक राजेश हमाल रहेका छन् भने शोको परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन्। निर्देशक कँडेलका अनुसार, शोको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्याउने हो।
त्यस्तै, हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवाहरूलाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ।
शोका निर्माताहरूका अनुसार, ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ।