‘परिवर्तन’ को टिजरले थप्यो उत्साह: जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री
सुशील श्रेष्ठको एक्सनले भरिएको टिजर सार्वजनिक भएसंगै चलचित्र ‘परिवर्तन’ को चर्चा चुलिएको छ । सोहि चर्चाको कारण चलचित्रको विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। चलचित्र कतार,यूएई र जापानमा विक्री भएको हो। कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको छ भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए।

उनले अन्य देशको प्रदर्शन अधिकार बिक्रिका लागी कुरा भैरहेको बताए। ‘अहिले तीन देशमा चलचित्रको राइट्स विक्री भइसकेको छ। अन्य देशमा पनि कुराकानी भइरहेको छ। सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछौ,’निर्माता सिवाकोटीले भने। देश परिवर्तनको सन्देश बोकेको चलचित्रलाई विजय केरुङ्गले निर्देशन गरका छन् । देशमा भएको विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका बारेमा सोच्ने बेला भएको सन्देश दिएको छ।
निर्माता दीपक सिवाकोटी आफैले लेखेको चलचित्रमा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे,सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेको हुन् भने संगीत एस.डी. योगीको छ। श्री श्रेष्ठको एक्सन निर्देशन रहेको यो चलचित्रमा शिव ढकालको छायांकन,बन्दे प्रसादको सम्पादन रहेको छ।





