खगेन्द्र र वर्षाको ‘हर्ष’ ट्रेलरमा के छ ?
चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। एकता पौडेलको डेव्यु निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरले पारिवारिक कथावस्तु दर्शाउछ। चलचित्रका प्रमुख कलाकारलाई समावेश गरिएको ट्रेलरले एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको कथा प्रस्तुत गरेको छ।

मङ्सिर १२ गतेबाट रिलिज हुने चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माताको रुपमा चलचित्रमा रहेका छन्।
चलचित्रमा आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् ।





