‘अभिमन्यु’ अन्डर डगहरूको चलचित्र हो- निर्माता विनोद पौडेल


निर्माता विनोद पौडेलको निर्माणमा तयार भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मङ्सिर १८ गतेबाट रिलिज हुँदैछ । पटक पटक रिलिज मिति सारिएको चलचित्रलाई धेरैले चलेका स्टार नभएको भन्दै व्यवसायिक हिसाबले प्रश्न गरिरहेका छन्। स्टार भनिएका चलचित्रको साथमा रिलिज तयारी हुँदा क्युएफएक्सले शो दिन आनाकानी गरेको भोगाइ चलचित्रले भोगिसकेको छ । सोहि कारण पनि निर्माता विनोद पौडेल बेलाबेलामा यसको आक्रोश सामाजिक संजालमा पोख्ने गर्दछन्। उनि कुनै पनि चलचित्र सानो वा ठुलो नहुने र व्यापारिक आंकडाले मात्र यसलाई प्रमाणित गर्ने बताउदै आएका छन्।

जुन चलचित्रले बढी कमाई गर्छ त्यहि ठुलो हुने उनको बुझाई रहेको छ। ‘पूर्ण बहादुरको सारंगी’ जस्तो एतिहासिक चलचित्रको निर्माण गरिसकेका पौडेल सोहि चलचित्रलाई उदाहरण मान्छन्। खासै चासोका साथमा नहेरिएको उक्त चलचित्रले ४६ करोड ५० लाख बराबरको बक्स अफिस कलेक्सन गर्न सफल भएको थियो।

निर्माता पौडेले आफ्नो चलचित्रलाई ‘अन्डर डग’ हरूको चलचित्र भनेका छन् । नहेप्न चेतावनी दिएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता र विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा रहेका छन् । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्