कस्तो छ प्रदिप, बेनिशा र कविताको ‘एक्लो’ ट्रेलर ?
प्रदिप खड्का प्रमुख भूमिकामा रहेको चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा चलचित्रले विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो। कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ चलचित्र प्रवर्धन गरेको थियो ।
ट्रेलर चलिरहेको नेपाली चलचित्र भन्दा केहि फरक देखिएको छ। तर विदेशी चलचित्रका पारखीका लागी भने यो खासै नौलो बिषयको चलचित्र भने हैन। तर निर्देशक प्रदिप शाहीले जुन शैलीमा कथा भन्ने कोसिश गरेका छन् , नेपाली परिवेशका लागी यो नयाँ स्वाद पक्कै हो। निर्देशक शाहीले यस अगाडी अन्तिम संस्कार र गोर्खा ब्रिनिथ द ब्रेभरी जस्ता चलचित्र निर्देशन गरेका थिए।
एक्लोमा प्रदिप खड्का, कविता नेपाली, बेनिशा हमाल, विजय लामा, दिनेश डिसी, सुरजसिंह ठकुरी, दिया पुन, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। एनआरएन समूहको लगानीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।



