‘कुमारी’ पोष्टरमा रोमान्टिक अभिषेक र आकृति
युवापुस्ताको प्रेमकथा बोल्ने चलचित्र ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी लाई पोष्टरमा प्रस्तुत गरिएको छ । दुवै रोमान्टिक मुडमा देखिएका छन्।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ‘वेभ’हरू प्रयोग गरिएको छ। अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।
माघ २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। चलचित्रको निर्माण टिमले पौष ३ गते नयाँ गीत ‘तिमी बिना’ रिलिज गर्ने तयारी समेत गरेको छ । अभिषेक र आकृतिले यहि चलचित्र मार्फत डेव्यु गर्दैछन्।
चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्।



