बक्स अफिसमा चम्कियो पल शाहको स्टारडम, आ बाट आमा कलेक्सन १० करोड पार
अभिनेता पल शाहको व्यक्तिगत जीवन र व्यावसायिक जीवनको उतारचढाव सधै दर्शक र चलचित्रकर्मीका लागी चासोको बिषय रहेको छ। सफलता र असफलता दुवै भोगेका उनको करियर यात्रालाई लिएर धेरै बहस हुने गरेको छ। उनले हरेक समय प्रत्यक्ष अथवा अप्रत्यक्ष हिसावले आफ्नो खुट्टा चलचित्र क्षेत्रका व्यक्तिले नै तानिरहेको बताउदै आएका छन्।
बिशेषगरि रावयन र मायावीको असफलताले उनको करियरलाई नै अर्को मोडमा ल्याइदियो। धरै बाचा गरेका निर्माता र निर्देशकले उनलाई चलचित्रबाट निकालेको समेत चर्चा हुन् थाल्यो।

तर निरन्तर मिहेनत गरिरहेका पलका लगातार दुई चलचित्र बक्स अफिसमा सफल भए। मोहर चलचित्रले बक्स अफिसको सुखद स्वाद दिएको पललाई प्रदर्शनरत चलचित्र ‘आ बाट आमा’ ले सुपरहिट चलचित्रको स्वाद दिईरहेको छ। यो चलचित्रले विश्वभरबाट १० करोड बढीको कमाइ गरिसकेको छ। यो आँकडा निरन्तर बढिरहेको छ। अहिले पनि २०० बढी शोमा प्रदर्शन भैरहेको चलचित्रले १५ करोड माथिको कलेक्सन सहज रुपमा गर्ने देखिएको छ। यो चलचित्र पल शाहको करियरको सर्वाधिक कमाई गर्ने चलचित्र बन्ने होडमा रहेको छ।
चन्द्र पन्त निर्देशित चलचित्रमा पलको साथमा प्रदिप रावत, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोख्रेल लगायतका कलाकारको अभिनय रहेको छ ।



