‘एक मुठ्ठी बादल’ को गीतमा आंचलको ठुम्का


चलचित्र ‘एक मुठ्ठी बादल’ को पहिलो गीत सार्वजनिक भएको छ। मिना पोखरेल र इन्द्रकला राईको स्वरमा रहेको  ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो।  गीतमा हर्क साउदको शब्द र सुमित पाठकको सङ्गीत रहेको छ।  गायनमा नेपाल आइडलबाट परिचित सुमितले पार्श्व संगीतको यात्रा सुरुवात गरेका हुन्।  

गीतको भिडियोमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् । भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रूपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।

प्रतीक गुरुङले निर्देशन गरेको भिडियोमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र  जेठ १ गतेबाट प्रदर्शन हुँदै छ। चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरल प्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलता, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्