निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
वरिष्ठ अभिनेता तथा निर्देशक निर शाहको निर्देशनमा तयार भएको चलचित्र ‘कमला मिस’ को प्रदर्शन मिति नजिकिदै गएको छ। साउन २२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्देशनमा पुनरागमन गरेका शाहको चलचित्रको पोष्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ। पोष्टर मार्फत टिमले चलचित्रको कथा बुझाउने प्रयास गरेको छ।

मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ पोष्टरले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ ।मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।




