‘माया भनेकै यस्तो होला’ को टिजर : दिलको वरिपरि घुमेको प्रेमको कथा


अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक गरेको छ। टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।

विपरीतलिंगी प्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ । कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मुख्य पुरुष पात्रको दृश्य, संवाद र अभिनयले पनि प्रस्ट पार्छ ।

टिजर अनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवतीको प्रवेश हुन्छ, नीति शाह र सृष्टि श्रेष्ठ । सुरुवातमा दील र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यको सपना बुनेका दृश्यहरू छन् । तर, कथामा यस्तो मोड आउँछ जहाँ दिल श्रेष्ठ विवाहको मण्डपमा त पुग्छन्, तर उनको अगाडि उनले चाहेकी प्रेमिका भने छैनन्।

टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा देखाइएको छ । सृष्टि श्रेष्ठको भूमिका केही गम्भीर र रहस्यमय देखिएको छ । अर्की अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थपेको छ ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् । चलचित्र भदौ २६ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्