अनमोल र प्रिन्सीको ‘बाटुलो जुन’ टिजर सार्वजनिक
अभिनेता अनमोल केसी प्रमुख भुमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’ को टिजर सार्वजनिक भएको छ। यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको प्रेमकथानक टिजर सार्वजनिक गरिएको हो। ३० को दशकको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रको सेटिङ्ग त्यहि परिवेश अनुसारको गरिएको छ।

डेव्यु नायिका प्रिन्सी खतिवडासंग अनमोलको क्यामेष्ट्री आकर्षक देखिएको छ। चलचित्रले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ । अहिलेको प्रविधिमैत्री यूगमा र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, त्यो समयको प्रेम र समाजलाई चलचित्रले कथानकमा समेटेको छ ।
सनराइज पिक्चरको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्या खड्का हुन्। भुवन केसीको निर्देशनमा तयार भएको चलचित्रमा भुवन, अनमोल र प्रिन्सीको साथमा गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। गरिमा यहि चलचित्र मार्फत लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछिन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेको चलचित्र कार्तिक २६ गतेबाट रिलिज हुदैछ।










