तुलसी घिमिरेको ‘पहाड’ कार्तिक ७ मा रिलिज तय


तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । चलचित्र आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

उनले भने,‘वितरकसँग छलफल गरेर प्रदर्शन तय गरेका हौँ । नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौँ । चलचित्रको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौँ ।’

गोरखामा ३६ दिन छायाङ्कन भएको चलचित्रको वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायाङ्कन गरिने निर्देशक घिमिरेले जानकारी दिए । ‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा चलचित्र, वेबसिरिज र टेलीफिल्म समेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यसमा रञ्जित गजमेर सङगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग चलचित्रको सह निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्