सर्वसाधारण दर्शकलाई बोलाइएको ‘के घर के डेरा २’ को प्रिमियर प्रतिक्रिया कस्तो?
दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २ ’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शक सहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।
सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई निमन्त्रणा गरेको थियो । ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले चलचित्र हेरेका थिए ।

आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको थियो । प्रायः नेपाली चलचित्रको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ । यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा चलचित्र देखाइएको हो ।
प्रिमियरपछि चलचित्र हेर्ने दर्शकले ‘के घर के डेरा : घर नं २’को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नै पर्ने चलचित्र भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा चलचित्रमा रहेको उनको उनीहरूले रिभ्यू दिएका छन् ।
त्यस्तै, अभिनेता हरिवंश आचार्यले चलचित्रको प्राविधिक पक्षको खुलेर तारिफ गरे । “टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,” उनले भने ।
अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै भनिन्, “चलचित्र निकै मनछुने छ । सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ ।”
अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । “मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,” उनले भनिन् ।
नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ । “आज म निकै उत्साहित छु, दर्शकसँगै बसेर प्रिमियरमा चलचित्र हेर्न पाएर,” नायिका केकी अधिकारीले भनिन्, “म पनि दुई तीन ठाउँ इमोस्नल भएँ ।”
“चलचित्र जस्तो छ त्यस्तै रिभ्यू दिनु होला । राम्रो लाग्यो भने अरुलाई भन्नुहोला । नराम्रो छ भने पनि भन्नुहोला हामी सच्याउँदै सिक्दै अगाडि बढ्छौँ,” अभिनेता खगेन्द्र लामिछानेले भने ।
नायक आर्यन सिग्देलले भने, “जस्तो लाग्छ, त्यस्तै रिभ्यूको अपेक्षा गरेका छौँ । पक्कै पनि चलचित्र मन परेको महसुस मैले गरेको छु ।”
‘के घर के डेरा : घर नं २’ भोलिबाट रिलिज हुँदैछ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको चलचित्रमा छायांकन रहेको छ ।