सहकारी ठगीको बलियो आवाजमा ‘महाभोज’ ट्रेलर
जेठ १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको समग्र ट्रेलरले सहकारीले पिडित बनेका परिवार, आम नागरिक र त्यसले उत्पन्न गरेको परिस्थितिको कथालाई उठान गरेको छ ।

चलचित्रका प्रमुख पात्रलाई समावेश ट्रेलरले आम नागरिकले सहकारीमा पैसा जम्मा गरेपछि र बचत रकम गुमेपछि भोगेको दैनिकी समस्याको कथा चलचित्रले बोलेको स्पष्ट देखिन्छ। नेपालमा अहिले चर्को रुपमा यसको मुद्दा र आवाज उठिरहेको कारण पनि यो चलचित्रको प्रभाव गहिरो पर्ने अनुमान गर्न सकिन्छ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको अभिनय चलचित्रमा रहेको छ। नेतृत्वले कसरी कर्मचारीको प्रयोग गरेर पैसाको अपचलन गर्छन् भन्ने कथा पनि ट्रेलरमा समावेश गरिएको छ।
ट्रेलरको अन्त्यमा भित्तामा लेखिएको ‘सत्य कहिल्यै लुक्दैन’ लेखले चलचित्रको बिषय झन् गहिरो र बलियो रहेको बुझ्न सकिन्छ। हिमाला कडरिया निर्माता रहेको चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त सहकार्यमा निर्माण भएको हो ।