इलाममा पांच दिने बालचलचित्र महोत्सव सुरु


इलाम नगरपालिका र चलचित्र बोर्डको सहकार्यमा इलाममा ‘बालचलचित्र महोत्सव’ सुरु भएको छ । जेठ १० गतेसम्म जारी रहने महोत्सवचलचित्र क्षेत्रमा रुची राख्ने र यसमा भविष्य बनाउन चाहने बालबालिकालाई लक्षित गर्दै मंगलबारदेखि सुरु भएको हो। आफ्नो गृहनगरमा महोत्सव उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यस्ता महोत्सवको आयोजना हुनु सकारात्मक सुरुवात भएको बताएका छन्।


पांच दिनसम्म विभिन्न कार्यक्रम राखिएको महोत्सवमा सेलिब्रेटीसँग बालबालिकाको साक्षात्कार गराइनेछ । साथै, बालचलचित्र प्रदर्शन गरिनेछ भने बालचलचित्र निर्माणसम्बन्धी प्रशिक्षण समेत दिइनेछ।

इलाम नगरपालिकाको सभाहलमा सञ्चालित महोत्सवको पहिलो दिन ३५ जना बालबालिकालाई चलचित्र निर्माणबारे तालिम दिइएको थियो । निर्देशक तथा निर्माता बद्री अधिकारीले तालिमको सहजीकरण गरेका थिए भने संयोजन कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले गरेका थिए ।

इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले उद्घाटन गरेको कार्यक्रममा जिल्लामा रहेका विद्यालय, बालक्लब, बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरि कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिका सहभागी छन् । निर्देशक अधिकारीसहित लेखन, छायांकन, सम्पादन र संगीत विधाका ३ जनाले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्