‘परालको आगो’ ट्रेलर : सुहाना र प्रकाशको प्रेम र झगडा
चलचित्र ‘परालको आगो’ को ट्रेलर रिलिज भएको छ । रिलिज मिति नजिकिदै गर्दा चलचित्रको निर्माण टिमले आज ट्रेलर सार्वजनिक गरेको हो। चलचित्रका मुख्य कलाकारको जोडीलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। चलचित्रमा सौगात मल्ल र सिर्जना अधिकारी र प्रकाश सपुत र सुहाना थापाको जोडी रहेको छ। सुहाना र प्रकाशको प्रेम र झगडाको कथा प्रस्तुत ट्रेलरमा सौगात र सिर्जनाको प्रेमलाई स्थान दिईएको छ।

चामे र गौथलीको वरपरी घुमेको कथामा ट्रेलर आकर्षक देखिएको छ। लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई उठान गर्ने अनुमान गरिएको छ। हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा तयार भएको चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
चलचित्रका निर्माता सुशील पोख्रेल हुन्। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ मा आधारित भएर चलचित्र निर्माण भएको हो।

