कस्तो छ आँचल शर्माको ‘एक मुठ्ठी बादल’ को ट्रेलर ?
सहारा शर्माको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक भएको ट्रेलरले विवाह हुन लागेको समयको परिवारको कथा बोल्छ । त्यो संगै विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल पहेँली, बुझाई र दृष्टिकोणलाई सहजरुपमा चित्रण गरिएको छ। मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन् । परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।

चलचित्रमा आँचल सहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेको चलचित्रमा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्मातामा छन् । निर्माण टोलीमा जर्मनका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि रहेका छन् । थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको चलचित्रमा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ ।



